काठमाडौं । मध्यपूर्वमा इजरायल र इरानबीच सुरु भएको प्रत्यक्ष सैन्य मुठभेडको प्रभाव कतारसम्म पुगेपछि दोहास्थित नेपाली दूतावासले ‘हाई अलर्ट’ जारी गरेको छ ।
इरानी मिसाइलहरू खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडातर्फ सोझिएको अन्तर्राष्ट्रिय रिपोर्ट सार्वजनिक भएसँगै कतारमा रहेका करिब ३ लाख ५० हजार नेपालीको सुरक्षालाई लिएर चिन्ता बढेको हो ।
शनिबार साँझ जारी विशेष सूचनामा दूतावासले कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
मध्यपूर्वमा विकसित असामान्य परिस्थितिलाई दृष्टिगत गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उच्च सावधानी अपनाउन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘सम्भव भएसम्म घर ९आश्रयस्थल० बाहिर ननिस्कनुहोस्, आधिकारिक घोषणाबाहेकका अफवाहमा विश्वास नगर्नुहोस्।’
दूतावासले आवश्यक परेमा आपतकालीन सम्पर्क नम्बरमार्फत जानकारी लिन आग्रह समेत गरेको छ ।
कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदेइद एयर बेस रहेको छ। इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरू आफ्नो निशानामा रहेको चेतावनी दिँदै आएको सन्दर्भमा कतारले आफ्नो रक्षा प्रणाली पूर्ण क्षमतामा सक्रिय पारेको जनाइएको छ।
यसले दोहा र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता उच्च स्तरमा पुर्याइएको छ । कतार नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि काठमाडौँ–दोहा रुटका दैनिक पाँच वटा सिधा उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन् ।
यसबाट नेपाल–कतार आवागमनमा प्रत्यक्ष असर परेको छ भने यात्रुहरू अन्य वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन् ।
गल्फ न्यूजका अनुसार कतार सरकारले स्थानीय बजारमा खाद्यान्न तथा औषधिजन्य सामग्री अभाव हुन नदिन ‘इमर्जेन्सी सप्लाई चेन’ सक्रिय बनाएको छ। साथै नागरिकलाई अनावश्यक रूपमा सडकमा भीड नगर्न र शान्त रहन निर्देशन दिइएको छ।
कतारमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् । विकसित परिस्थितिले रोजगारी, आवागमन र सुरक्षामा असर पार्ने सम्भावनालाई ध्यानमा राख्दै दूतावासले उच्च सतर्कता अपनाएको हो ।
मध्यपूर्वको सैन्य टकराव थप फैलियो भने खाडी क्षेत्रका अन्य देशहरू समेत प्रभावित हुन सक्ने आकलन गरिएको छ। नेपाल सरकार र सम्बन्धित दूतावासहरूले अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन् ।