एजेन्सी । गाजा शहरमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखा ‘कसम ब्रिगेड्स’का वरिष्ठ कमाण्डर इज्जेदिन अल-हद्दाद मारिएका छन् ।
हमास र इजरायली सेनाले शुक्रबार साँझ उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।
बीबीसी फारसीका अनुसार इजरायलले अल-हद्दादलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरिएको भीषण हमलाका प्रमुख योजनाकारमध्ये एक मान्दै आएको थियो । सोही आक्रमणपछि इजरायल–हमास युद्ध चर्किएको थियो ।
शनिबार गाजा शहरमा अल-हद्दादको अन्त्येष्टि गरिएको छ । इजरायली आक्रमणमा उनका परिवारका सदस्यहरू पनि मारिएको बताइएको छ ।
गाजामा कार्यरत सहायता संस्थाहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।