रोल्पा। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।
आज रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा उनले चुनावका लागि सार्वजनिक अपिल गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेको र रोल्पाबाटै निर्णायक सन्देशसहित सम्बोधन गर्ने योजना रहेको छ ।
प्रचण्डको सम्बोधनलाई भौतिक रूपमा पनि भव्य बनाउन नेपाली कम्युनिस्ट पार्टी रोल्पाले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढा बताएका छन् । करिब १५ हजार मानिसले प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका दाहालका विश्वासपात्र मानिएका वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार रहेका छन् ।
शनिबार लिबाङमा हुने चुनावी सभामा पार्टीका संयोजक दाहालका साथै रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनले पनि सम्बोधन गर्नेछन् । त्यससँगै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।