Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश सक्ने चुनावमा गएर भोट नहाल्नू : दुर्गा प्रसाईं

देश सक्ने चुनावमा गएर भोट नहाल्नू : दुर्गा प्रसाईं

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै मेडिकल व्यवसायी समेत रहेका हिन्दू धर्म अभियन्ता दुर्गा प्रसाईंले फेरि चुनावविरोधी अभिव्यक्ति दिएका छन् ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको थियो । बुधबार काठमाडौं प्रहरी परिसरबाट रिहा भएका उनले चुनावविरोधी कडा अभिव्यक्ति दिएका हुन् ।

बीएन्डसी मेडिकल कलेजका सञ्चालक एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ अभियानका संयोजक प्रसाईले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको बताउँदै झन उग्र भएर नुनावविरोधी अभिव्यक्ति दिएका हुन् । 

उनले सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन जलाइएको बताउँदै त्यति गरेर २०८४ को चुनाव ०८२ मा गर्न लागिएको दाबी गरे ।

उनले भने–‘संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, सिंहदरबारदेखि स्वास्थ्य चौकीसमेत डढाएर के परिवर्तन आयो ? ०८४ को चुनाव ०८२ मै गर्न सिंहदरबारमा आगो लगाएको हो ? यो कुरा प्रष्ट नभइ तपाईंहरू किन चुनाव गराउनु हुन्छ ? मैले बोल्दाखेरी थुनिनुपर्ने ? मैले यो कुरा पटक–पटक बोलेको हो । सिंहदरबार र संसद् भवनमा आगो लाग्दा कोही पनि नबोल्ने अनि अहिले हतियार र बर्दी देखाएर चुनावमा जाने ?’

पहिले संविधान संशोधन गर्नुपर्ने, सर्वदलीय बैठक बस्नुपर्ने, हिन्दू राज्य र राजसंस्था फर्काएर मात्रै चुनावमा जानुपर्ने उनको भनाई थियो । 

उनले भने–‘सबै ठाउँमा आगो लगाएर खाली चुनावमा मात्रै जाने । नियमित चुनाव त ०८४ मै भइजान्थ्यो नि । २०५८ जेठ १९ गते राजारानीको हत्या गर्ने, २०६३ को आन्दोलन गराउने, नयाँ संविधानबाट गणतन्त्र ल्याउने र सिंहदरबारमा आगो लगाउने एउटै समूह हो । अहिले त्यसैले चुनाव गराएर देशलाई युक्रेन बनाउँदैछ।’

उनले यही अवस्थामा यदि चुनाव भएमा नेपाल दोस्रो युक्रेन हुने दोहोर्‍याए । ‘यो चुनाव भयो भने देश दोस्रो युक्रेन हुन्छ । नेपाल अब युक्रेनको बाटोमा जाँदैछ ।’

मतदाताहरूलाई कुनै पनि हालतमा भोट हाल्न नजाज अपील गर्दै उनले भने–‘तपाईंहरू चुनावमा नजानुस् । देश सक्ने विचार छ भने चुनावमा भोट हाल्नुस् । भात खाने जनता हो भने यो पटक चुनावमा भोट हाल्न जाँदैन । देश सक्ने चुनावमा गएर किन समय बर्बाद गर्नु हुन्छ ?’

निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनलाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई बिना कारण थुनामा राखेको देखिएको थुनामुक्त गर्न आदेश गरेको थियो ।

मंगलबार नै रिहा हुनुपर्ने भए पनि केही कानूनी  प्रक्रिया बाँकी रहेकाले बुधबारमात्र प्रसाईं रिहा भएका हुन् । 


प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक(पटक पक्राउ गर्दै आएको छ ।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रसाईंलाई यसअघि प्रहरीले माघ २३ गते पनि पक्राउ गरेको थियो । त्यसबेला उनी हाजिर जमानीमा छुटेका थिए । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर त्यसबेला पक्राउ गरी बयान लिएर छाडेको थियो।  

उनलाई माघ ५ गते पनि प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेको आरोप लागेपछि त्यसबेला उनलाई पक्राउ गरिएको थियो । 

यस्तै, उनले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए । त्यसबेला उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077