सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापतिबाट राजीनामा दिएका दिनेश हुमागाईँ कांग्रेस प्रवेश गरेका छन् ।
केही दिनअघि रास्वपा छाडेका हुमागाईँ मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।
मंगलबार सर्लाही निर्वाचन क्षेत्र नं ४ मा पुगेका हुमागाईँलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् ।
हुमागाईँले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका थिए । हुमागाईँले प्रतिनिधि सभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप समेत लगाएका थिए ।
हुमागाई २०७९ को निर्वाचनमा काभ्रे २ बाट रास्वपाको प्रत्यक्ष उम्मेदवार थिए ।