काठमाडौं । नेपाल प्रहरीले करिब ३७ करोड रुपैयाँ बराबरका दंगा नियन्त्रण सामग्री (राइट कन्ट्रोल गियर) र ढाला (एन्टी रोइट सेल्ड) खरिद गर्न लागेको छ ।
करिब ३६ करोड १८ लाख मूल्य बराबरको हेलमेटलगायत भिड नियन्त्रणमा आवश्यक सामग्रीसहितको राइट कन्ट्रोल गियर खरिदका लागि नेपाल प्रहरीले गएको माघ २६ गते बोलपत्र सूचना निकालेको छ । त्यस्तै करिब ७५ लाख बराबरको ढाला खरिद गर्न लागिएको छ ।
राइट कन्ट्रोल गियर र ढालाको बोलपत्र २०८२ चैत १२ गते खोल्ने मिति तोकिएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
प्रतिनिधिसभाको निर्वाचनपछि नतिजा आउन र सरकार गठन हुन कम्तीमा १ महिना लाग्छ । अझ कुनै पार्टीको बहुमत नआएमा गठबन्धनको गठजोड मिलाउन थप समय पनि लाग्न सक्छ ।
निर्वाचन भएको र सरकार नबनिसकेको मौका पारी खरिद प्रक्रिया टुंग्याउनकै लागि राइट कन्ट्रोल गियरसहितका सुरक्षा सामग्री खरिद गर्न लागिएको आरोप छ ।
यसअघि राइट कन्ट्रोल गियर खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि टेण्डर रद्द भएको थियो । लामो समयदेखि राइट कन्ट्रेल गियर र ढाला खरिद गरिएको थिएन । तर निर्वाचन सकिएलगत्तै बोलपत्र खोल्नेगरी टेण्डर सूचना प्रकाशित गरिएको छ ।
निर्वाचन सम्पन्न भई सरकार गठन नहुँदै खरिद टुंग्याउन प्रहरीका सरुवा बढुवादेखि ठेक्काका बिचौलिया पूर्वडीएसपी गणेश चन्द र सप्लायर्सहरु लागेको स्रोत बताउँछ ।

स्रोतका अनुसार सप्लायर्स र चन्दको सेटिङ अनुसार नै निर्वाचनको मौकामा टेण्डर गरी सरकार नबन्दै खरिद सम्झौता गर्न लागिएको हो । नयाँ सरकार गठन भएपछि गृहमन्त्री र प्रधानमन्त्री कार्यालयसम्म कमिसनको भागबण्डा पुर्याउनुपर्ने भएपछि ठेकेदार र प्रहरीको प्रबन्ध निर्देशनालयका हाकिमहरुले टेण्डर प्रक्रिया मिलाएका हुन् ।
राइट कन्ट्रोल गियर र ढाला खरिदको ठेक्कामा बिचौलिया दिपक भट्टले चलखेल गरेका छन् भने निर्वाचन प्रहरीको झन्डै ७० करोडको लत्ताकपडाको काम हत्याएका ज्ञानेन्द्र बस्नेत पनि लागिपरेका छन् ।
अहिले प्रहरीको खरिदमा ठेकेदार बस्नेत,चन्द र प्रधानमन्त्री सुशीला कार्कीका स्वकिय सचिव आदर्श श्रेष्ठको सेटिङ चल्ने गरेको छ।