Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विचौलिया भट्टलाई हतियार खरिददेखि ठेक्कापट्टामा सहयोग गर्ने प्रहरीहरु पनि अनुसन्धानमा तानिदै

विचौलिया भट्टलाई हतियार खरिददेखि ठेक्कापट्टामा सहयोग गर्ने प्रहरीहरु पनि अनुसन्धानमा तानिदै

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । शेयर कारोबारमा गम्भिर अनियमितता गरेको प्रकरणमा पक्राउ परेका विवादास्पद व्यापारी दीपक भट्टको ‘विचौलिया साम्राज्य’ राजनीतिक र आर्थिक क्षेत्र मात्र नभई प्रहरीसम्म पनि फैलिरहेको तथ्य खुल्नेक्रम जारी छ । 

भट्टलाई सहयोग गर्ने निजामती कर्मचारीहरुमध्ये सम्पत्ति शुद्धिकरणकै महानिर्देशक र आन्तरिक राजश्वका महानिर्देशकलगायत आधा दर्जन कर्मचारीहरुलाई खेदाएर मधेशदेखि सुदूरपश्चिम प्रदेश पठाइएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भट्टसँग जोडिएका आफ्नै गृहमन्त्री सुधन गुरुङलाई समेत राजीनामा गराएका कारण भट्टसँग काम गर्ने कोही पनि अधिकारीहरुले कारबाहीबाट मुक्ति पाउने अवस्था देखिएको छैन । 

यद्यपी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र दीपक भट्टलाई सहयोग गर्ने अधिकारीहरु भने अहिलेसम्म छानविनको दायरामा तानिएका छैनन् । भट्टले प्रहरीकै प्रवन्ध शाखामा चलखेल गरी ठेक्कापट्ट हत्याउँदै आएका थिए । 

आईजीपी नियुक्तिमा समेत उनको चलखेल हुँदै आएको थियो । पूर्वआईजीपीहरु उपेन्द्रकान्त अर्याल, रमेशचन्द ठकुरी, दीपक थापा, धिरजप्रताप सिंह, पूर्वएआईजीहरु प्रतापसिंह थापा, रविन्द्रसिंह धानुक, हरी पाललगायतका अधिकारीहरुले भट्टलाई धेरै सहयोग गरेको एक पूर्वप्रहरी अधिकारीले अनलाइन नेपालसँग बताए । 

सर्वेन्द्र खनाल आईजीपी छँदा प्रवन्धमा बसेका इन्सपेक्टर केशव गौतमले भट्टलाई ठूलो गुन लगाएका थिए । त्यतिखेर भट्टले खरिद गरेको वाटरक्यानन (पानीको फोहोरा फाल्ने उपकरण) प्रवन्धमा दाखिला नहुँदै प्रहरीले भुक्तानी गरेपछि अख्तियारले समेत पत्र काटेको थियो ।  

प्रवन्ध शाखामा बसेर काम गरेका पूर्वडिएसपी बलराम खत्री त भट्टका कर्मचारी नै बनेर गृहमन्त्रालयमा फाइल बोकेर हिड्ने गर्दछन् । 

अहिले प्रहरी भित्रका केही अधिकारी र ठेकेदार ज्ञानेन्द्र बस्नेतको समूहले भट्टलाई सहयोग गरिरहेको स्रोत बताउँछ । 

सुशीला कार्की नेतृत्वको सरकारमा श्रममन्त्री बनेका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीले त हतियार खरिद सम्बन्धि दीपक भट्टको अडियो काण्ड नै बाहिर ल्याएका थिए । त्यतिखेर भण्डारीलाई प्रशासनबाट सरुवा गरी प्रहरी एकेडेमी पुर्याएर अर्यालले भट्टलाई सहयोग गरेका थिए ।

भट्टले प्रहरीमा हतियार खरिदमा बढी चासो राख्ने र अन्य ठेक्कापट्टाहरुमा बुढानिलकण्ठ निकट विचौलिया रामचन्द्र भट्टमार्फत ठेकेदारहरु मिलाएर काम गराउँथे । 

ठूलो कमिसनमा ठेकेदार ज्ञानेन्द्र बस्नेतको समूहलाई भट्टले सेटिङ गरेपछि प्रहरीभित्रको खरिद काण्ड बाहिर आएको थियो । 

अन्तिममा जेनजी आन्दोलनपछि उक्त ठेक्का रद्द भयो भने सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले दानबहादुर कार्कीलाई आईजीपीमा नियुक्त गर्यो । यति हुँदा पनि प्रहरीमा भट्टको रजगज रोकिएको छैन । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दुई वर्ष अघि भट्टमाथि छानविन गर्न सीआईबीलाई पत्राचार गरेका थिए । हाल मनोज केसी सीआईबीमा आएपछि पनि छानविन अगाडि बढेन । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टलाई तीन साता अघि पक्राउ गरी धितोपत्र बजारलाई नै तहसनहस बनाउन खोजेको आरोपमा छानविन गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टलाई सहयोग गरेर फाइदा लिने प्रहरी अधिकारीहरुको समेत सूची तयार पारेर बयान लिने तयारी थालेपछि प्रहरीभित्र हलचल मच्चिएको स्रोत बताउँछ । 

भट्टले सेयर बजार प्रभावित पार्ने, मूल्यमा उतारचढाव ल्याउने र जालसाँझीपूर्ण कार्य गरेको धितोपत्र बोर्डले गरेको सुपरिवेक्षणले निष्कर्ष निकालेको थियो । 

धितोपत्र कारोबार सम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदन अनुसार भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमार्फत रकमको वास्तविक लेनदेन नगरी भट्टले करोडौंको सेयर कारोबार गरेको खुलेको थियो । 

भट्टले पब्लिक कम्पनी हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ निकालेर नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए । उक्त सेयर खरिदमा नै भट्टले घोटाला गरेको खुलेको छ । 

हतियारमा भट्को स्वार्थ

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जसरी पनि हतियार खरिदका लागि उनले गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका बलका अधिकारीलाई निरन्तर राजनीतिक नेताहरुबाट दबाब दिंदै आएका थिए । 

चार वर्षअघि उनै भट्टले नेपाल प्रहरीसँग ९२ करोड तथा सशस्त्र प्रहरीसँग करिब ५० करोडको हातहतियार खरिदका लागि ठेक्का समेत हात पारेका थिए । तर, खरिद प्रक्रियामा विवाद भएपछि त्यसबेला सरकारले रोकेको थियो ।

सकेसम्म रोकिएकै ठेक्का व्युँताउने र नसकेपनि नयाँ प्रक्रियाबाट आफैंले हात पार्ने दाउमा भट्ट लागेका थिए । त्यसका लागि उनले तत्कालिन गृहमन्त्री रमेश लेखक, गृहसचिव, गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका तत्कालिन आइजीपी दिपक थापा तथा सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याललाई दबाब दिएको बाहिर आएको थियो । 

भट्टले सशस्त्र प्रहरी बलविरुद्ध त अदालतमा मुद्दा समेत दायर गरेका थिए । प्रतितपत्र खोलेर पनि आफुलाई ठेक्का नदिएको भन्दै उनी अदालत गएका थिए । जबकी त्यतीबेला शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद्ले नै ठेक्का रद्द गरेको थियो ।

तर, पुराना ठेक्कालाई म्याद थप गर्न सक्ने प्रावधान राखेर उनकै स्वार्थमा सार्वजनिक खरिद नियमावली समेत संशोधन गरियो ।

सोहीअनुसार म्याद थप गर्न उनले सशस्त्र प्रहरी बलमा निवेदन दिएपनि म्याद थप भएन । भट्टले आफ्ना कम्पनीले ठेक्का पाउने अवस्था नआए जिटूजी प्रक्रियाबाट आफैंले त्यसको काम हत्याउने गर्दथे । 

२०७९ को असारमा सशस्त्र प्रहरी बलमा मा १९ लाख ६६ हजार डलरको पेस्तोल तथा १७ लाख ८२ हजार डलरको सर्टगटन खरिदको सम्झौता भएको थियो ।

पछि डलरको अभाव भएको अवस्थामा हतियार खरिद गरेर देशलाई श्रीलंका बनाउन खोजिएको भन्दै विवाद भएपछि सरकारले स्थगन गरेको थियो । त्यतीबेला नै आफुले प्रमुख शक्तिकेन्द्रमा खर्च गरिसकेको भट्टले निकटस्थसँग बताउने गरेका थिए ।

त्यस्तै, नेपाल प्रहरीमा २० असार २०७९ मा हतियार खरिदका लागि मर्क्युर ट्रेडिङ प्रालि र ग्लोबल कन्स्टेलेसन ट्रेडिङ कम्पनीसँग सम्झौता भएको थियो । दुवै कम्पनी भट्टको कर्मचारीको नाममा दर्ता छ ।

मर्क्युरसँग पेस्तोल र सटगन तथा ग्लोबलसँग गोली र टियर ग्यास खरिदको सम्झौता भएको थियो । ६ लाख ६९ हजार डलरमा एक हजार वटा पेस्तोल, २४ लाख ९५ हजार डलरमा १२ बोर सटगन, चार लाख ३२ हजार डलरमा २ लाख लाइभ बुलेट, नौ लाख ५० हजार चार सय डलरमा तीन लाख रबर बुलेट तथा १३ लाख २८ हजार डलरमा नौ एमएम गोली खरिदको सम्झौता भएको थियो ।

ठूला ठेक्कामा सेटिङ मिलाउने र नेताहरुलाई कमिसन बाढ्ने गरेका कारण उनी बदनाम हुँदै आएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077