काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
गण्डकी प्रदेशको भ्रमणलगत्तै लुम्बिनी प्रदेश पुगेकी प्रधानमन्त्री कार्कीले आज बुटवलमा प्रदेशका उच्च अधिकारीहरूसँग चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिँदै यस्तो निर्देशन दिएकी हुन् ।
बुटवलमा आयोजित छलफलमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री र नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्टले प्रदेशका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, निर्वाचन तयारी र सुरक्षा योजनाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए।
ब्रिफिङमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्रीसहित रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता थियो।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन बहिष्कारको नाममा जनतालाई आतंकित पार्ने र अवैध रकम असुली गर्ने प्रवृत्तिलाई समयमै निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिइन् ।
उनले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी कडा निगरानी राख्न समेत सचेत गराइन्।