बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन् ।
शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको राजीनामा पत्रमा चौधरीले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने स्पष्ट पारेका छन् ।
राजीनामापत्रमा उनले पार्टीले आफ्नो स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताअनुसार काम नगरेको आरोप लगाएका छन्।
‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख गर्दै उनले आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धमा पार्टीले अवलम्बन गरेको पद्धति र निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
चौधरीले संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको जिकिर गरेका छन् ।
साथै, उनले केही निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको आरोपसमेत लगाएका छन् । रास्वपा मधेस प्रदेशका संस्थापक सदस्यसमेत रहेका चौधरी बाराका सहसचिव हुन् ।
उनले लामो समयदेखि पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।