काठमाडौं । उम्मेदवारले चुनावी प्रचारप्रसारका क्रममा ‘सनरूफ’ गाडी प्रयोग गर्न नपाउने भएका छन् ।
उम्मेदवारको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो ।
बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले प्रचारका क्रममा सनरूफ गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले उम्मेदवारको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार चुनावी प्रचारका क्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले सनरूफ गाडी प्रयोग गर्दै छतबाट टाउको निकालेर मतदातालाई हात हल्लाउने, अभिवादन गर्ने तथा हात मिलाउने गतिविधि गर्ने गरेका थिए ।