काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नेपाली जनताको साहस, त्याग र बलिदानबाट जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिनको रूपमा वर्णन गरेका छन्।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरेका छन्।
ओलीले प्रजातन्त्र दिवसले सबै नेपालीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको संरक्षण तथा लोकतान्त्रिक मूल्यहरूको रक्षा, र विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रिय धरोहर, उद्योग, पूर्वाधार तथा संस्कृतिको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन्।
उनले आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै नेपाली जागरूकतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘आजको दिनले हामीलाई राष्ट्रिय स्वाधीनता जोगाउने, संविधान र लोकतान्त्रिक अधिकारको संरक्षण गर्ने र राष्ट्रको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने जिम्मेवारी स्मरण गराउँछ,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।