काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजा जनकले जस्तै पार्टीले गरेको प्रतिज्ञाबाट एक इन्च पनि पछि नसर्ने दाबी गरेका छन् ।
बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले आफू कुनै बाचा वा घोषणाभन्दा पनि प्रतिज्ञाको अक्षरस पालना गर्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् ।
उनले भने, 'राजा जनकले जस्तै नेपाली कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि सर्ने छैन।'
सभापति थापाले सोही कार्यक्रममा कांग्रेसको १० बुँदे परिकल्पना सार्वजनिक गर्दै हरेक नेपालीलाई सम्मानपूर्वक बाँच्न पाउने देश बनाउने लक्ष्य अघि सारे।
उनले प्रत्येक नेपालीले सपना देख्न सक्ने र जीवनकालमै त्यो सपना साकार बनाउन सक्ने वातावरण तयार गरिने बताए।
परिकल्पनापत्रमा पेटभरि खुवाउने, स्वदेशी उत्पादनलाई विश्वभर चिनाउने, आर्थिक आत्मनिर्भरता र समृद्धिका आधार निर्माण गर्ने विषय उल्लेख गरिएको छ।