जनकपुरधाम। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार गरिएको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रतिज्ञा सभामा उक्त दस्तावेज औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
सार्वजनिक प्रतिज्ञा पत्रमा मुलुकको समग्र विकास, सुशासन तथा नीतिगत प्राथमिकता समेट्ने गरी १० वटा प्रमुख दृष्टि प्रस्तुत गरिएको छ।
जसमा स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र विदेश पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ। कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्दै ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल बनाउन प्रविधि र बजारको उचित व्यवस्थापन गरिने उल्लेख छ। साथै, पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत समुन्नतिको बाटोमा लम्कने नेपालको चित्र प्रस्तुत गरिएको छ।
आधारभूत सेवा सुविधातर्फ शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाइएको छ। ‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना गर्दै उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने र गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने जनाइएको छ। भिजनमा पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको छ । जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने पार्टीको योजना छ।
साथै छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।
यसका साथै भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने सभापति गगन थापाले दाबी गरे । आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ।
पुर्णपाठ