काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल सुधारको ग्यारेन्टी लिएर आफूहरू चुनावमा होमिएको बताएका छन् ।
बौद्धिक पेशाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणका लाग्ने योजनासहित चुनावमा होमिएको बताएका हुन् ।
उनले भने- 'नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने रु नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०र१२ वर्ष जसरी विकास हुनुन्थ्यो, त्यो हुन सकेन । हामीले मान्यौँ, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी समालिनुपनि पर्छ ।'
सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने हुनाले देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
उनले देशमा रहेका सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भूमिका नेपाली काँग्रेसले निर्वाह गर्ने दाबी समेत गरे ।
उनले थप भने- 'यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनीति आजको दिनमा नेपाली कांग्रेसले गर्छ ।'