काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो प्रतिनिधिसभा निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
मंगलबार झापा क्षेत्र नं. ५ मा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजय यात्रा रोक्न कुनै शक्तिले नसक्ने बताए।
उनले एमाले दोस्रो पार्टीबाट अब पहिलो पार्टी बन्ने अवस्थामा पुगेको दाबी गर्दै निर्वाचनले एमालेलाई नेतृत्वको अवसर दिने जिकिर गरे।
अध्यक्ष ओलीले २०८४ सालको निर्वाचन कुर्नुपर्ने अवस्था भए पनि मध्यावधि निर्वाचनले अहिले नै एमाले पहिलो पार्टी बन्ने मौका दिएको उल्लेख गरे।
‘एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। यति लागि त हामी हतार गरेका थिएनौँ। हामी त ८४ पर्खिराखेका थियौँ। तर हामीलाई अहिले नै पहिलो पार्टी हुने मौका मिल्ने भयो,’ ओलीले भने।
उनले एमाले कमजोर बनाउन विभिन्न प्रयास भए पनि पार्टी अझ सशक्त भएर उभिएको दाबी गरे। एमालेविरोधी शक्तिहरूलाई चेतावनी दिँदै उनले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने कुरा स्पष्ट रहेको बताए।
‘एमाले सिध्याउन आगो लगाए पनि एमाले झन् बलियो भएर आएको छ। एमाले पहिलो पार्टी हुन्छ,’ ओलीले भने, ‘एमाले विरोधी शक्तिहरूले कान खोलेर सुने हुन्छ, आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी हुन्छ।’