काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको उपस्थितिको विषय सामान्य रहेको बताएका छन्।
सोमबार राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले विभिन्न देशका सैनिकहरूबीच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई मित्रताको प्रतिकका रूपमा चित्रण गर्दै नकारात्मक रूपमा हेर्न नहुने बताएका हुन्।
भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले प्रदर्शन गरेको कला मित्र शक्तिहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र तालिमको अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेको बताए ।
'अहिले सामाजिक सञ्जालमा पनि आयो, केही व्यक्तित्वहरूबाट त्यो अमेरिकी सैनिक टुँडिखेलमा नाच्यो नि त भन्ने पनि आयो । अनि के अमेरिकी सैनिक टुँडिखेलमा नाच्नु नै अपराध हो त भन्ने पनि कसैको सोच होला । त्यो अमेरिकी सैनिक त्यहाँ टुँडिखेलमा नाचेको कार्यक्रममा म पनि उपस्थित छु । हिजो सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी सैनिक, बेलायती सैनिक, भारतीय सैनिकको टुकडीहरू, त्यो सैनिकहरूको एकआपसमा जुन जुन मित्र शक्तिहरू हुन्छन् र जुन जुन ठाउँमा चाहीँ उनीहरू तालिम आदानप्रदान गर्छन्, ती शक्तिहरूको त्यहाँ आएर यो प्रदर्शन गर्छन् । यो विश्वभरिको परिपाटी र प्रचलन हो,' उनले भने ।
सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ संकेत गर्दै उनले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक मानसिकता राख्नु दुःखद् भएको बताए।
साथै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सैन्य कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन्।