काठमाडौंस्थित टुँडिखेलको सैनिक मञ्चमा आइतबार बिहान नेपाली सेनाको २६३औँ वार्षिकोत्सव अवसरमा आयोजित बढाइ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको टोलीले सहभागिता जनाएर कार्यक्रमको शोभा बढाएको सन्दर्भलाई लिएर हाम्रो मातृभूमिको सैनिक दिवसमा गएर कार्यक्रममा गरेको विशिष्ट प्रस्तुतिको लागि धन्यवाद दिनु पर्ने हैन र ?
अनि फेरी केही मानिसहरूले के कति कारणले त्यसमा पनि अनेकन् आशङ्का र अफवाह पैदा हुने अभिव्यक्ति दिएर आफ्नै बुद्धि र विवेकलाई मजाक किन बनाएको ?
त्यसमाथि यस्ता घटिया र तल्लो स्तरका टिप्पणीहरूले दुई मित्र राष्ट्रहरूको सम्बन्धलाई बलियो बनाउनुको साटो कमजोर पार्छ भन्ने किन नबुझेको ?
अनि यति धेरै स्तरहीन टिप्पणीहरूलाई कतिपय जिम्मेवार तह र तप्कामा भए रहेकाहरूले खण्डन र खारेज गर्नुको साटो किन बढवा दिएको ?
यत्तिको निकृष्ट सोच राखेर कलात्मक प्रस्तुतिलाई अन्यथा अर्थ लगाउने र गलत ढंगले व्याख्या गर्ने गराउने कामलाई आम रूपमा नै खण्डन र खारेज गरिनु अनिवार्य छ ।
मलाइ थाहा छ यसो भनेर लेख्दै गर्दा कतिपयले आफू अमेरिकामा भएकोले यसो भनेको भनेर उल्टै टीकाटिप्पणी गर्नेछन्। तर सत्य बोल्दै गर्दा न हिजो डराएको थिएँ न त आज डराएको छु।
त्यसैले भन्छु ब्यान्ड बजाएर कम्मर मर्काएर नेपाली सेनाको स्थापना दिवसमा नाच्ने ती अमेरिकी सेनाका अधिकृत र जवानहरू नेपाल सिध्याउन गएका हैनन्, उनीहरू नेपाल भएकोमा खुसी मनाउन र नेपालीसँग रमाउन गएका हुन् ।
अमेरिकाले नेपाललाई गर्दै आएको मित्रवत् व्यवहारलाई उसले कायम राख्न चाहेको सन्देश प्रवाह गर्न गएका हुन्, अर्थात् उनीहरू मित्रताको बन्धन कस्न गएका हुन ।
त्यसैले अमेरिकी सरकार र अमेरिकी सेनाले देखाएको मित्रता र भाइचाराको विरोध हैन तारिफ गरौँ। मित्र राष्ट्रहरूसँगको सम्बन्ध बलियो बनाउन भूमिका खेलौँ ।