काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पुनः आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाँदै छन् ।
निर्धारित कार्यतालिकाअनुसार उनी बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट उडेर भद्रपुर विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि ओली झापामा हुने चुनावी कार्यक्रमहरूमा व्यस्त रहने एमालेले जनाएको छ ।
एमाले अध्यक्ष ओली यसअघि माघ २३ गते झापा पुगेर सात दिनसम्म क्षेत्रमा सक्रिय रहँदै करिब ८० गाउँमा मतदाता भेटघाट गरेका थिए । सो क्रममा उनले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको चुनावी रणनीति र प्रतिबद्धता प्रस्तुत गरेका थिए ।
आज ओलीको कार्यतालिकामा शिक्षक भेला, धिमाल समुदायको भेला तथा मुस्लिम समुदायसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ ।
यसका साथै उनले दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम पनि रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।
यस्तै, एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली फागुन ६ गतेसम्म झापामै रहनेछन् ।