रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा देखिएको संकटलाई परास्त गर्न छरिएका राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
प्रचण्ड’ ले ३१ औं जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वबाट सामाजिक सञ्जालमार्फत जारी शुभकामना भिडियो सन्देशमा शहीदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति सम्मान व्यक्त गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको वर्तमान संकट समाधानका लागि सबै राष्ट्रिय शक्तिलाई एकजुट हुन अपिल गरेका छन् ।
‘निर्वाचनमार्फत् सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु । म यहाँ आउँदा अलिकति भावुक र उद्वेलित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौं,' संयोजक प्रचण्डले भनेका छन्।
उनले प्रतिनिधिसभा निर्वाचनको लागि आफू रुकुमपूर्वबाट उम्मेदवार बन्दा एकातिर गर्व र अर्कातिर जिम्मेवारीबोध भएको पनि बताएका छन् ।
संयोजक प्रचण्डले रुकुम पूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको समेत बताएका छन् ।