पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढेको दाबी गरेका छन्।
बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्ष राजनीतिक दलले समेत निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको दाबी गरेका हुन्।
प्रचण्डले भने- 'मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरु, विपक्ष राजनीतिक दल, बुद्धिजीवीहरु, पत्रकारहरु सबैले पनि आज भोलि भन्न के थालेको छन् भने नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ। पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे-एकदम कम ल्याउँछ, भनेजस्तो आउँदै आउँदैन भन्थे केही मान्छेहरु।'
उनले आगामी १०, १५ दिनभित्र नेकपाले अन्य पार्टीलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गरे।
उनले थपे- 'मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गइसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ।'
साथै उनले सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।