संघीय शासन प्रणालीको कार्यान्वयनसँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक : आईजीपी कार्की
काठमाडौं । ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ को शुभारम्भ भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित विशेष समारोहकाबीच प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ को शुभारम्भ भएको हो ।
समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित गरिएका नेपालमा सामाजिक संजालको प्रयोग र साइबर अपराधबीच अन्तर सम्बन्ध सम्बन्धी अध्ययन, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन तथा ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवम् व्यवहार सम्बन्धी अध्ययन गरी तीन वटा अध्ययन प्रतिवेदनहरू सार्वजनीकिकरण गरे ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपाल प्रहरीले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयमहरूको बारेमा नागरिक समाजका प्रभुत्व व्यक्तिहरू, सुरक्षा विज्ञहरूलगायत समाजका विभिन्न तप्काका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नुलाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिएको बताए ।
प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने गृहमन्त्री अर्यालको भनाई थियो ।
गृहमन्त्री अर्यालले यस सम्मेलनमा हुने अन्तरक्रिया र बहसहरूले आम जनताले अपेक्षा गरे अनुरूप प्रहरी संगठन बनाउने, सेवा प्रवाहका सन्दर्भमा मूल्यवान तथा ठोस् सुझाव प्राप्त हुने र प्राप्त सुझाव, निष्कर्ष एवम् मार्गदर्शनहरूले नेपाल प्रहरीको रणनीतिक रूपान्तरणमा ठोस् योगदान पुर्याउने एवम् नेपाल प्रहरीले प्रदान गर्ने सेवा अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो हुने विश्वास व्यक्त गरे ।
समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखा परेका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न यस सम्मेलन महत्वपूर्ण हुने बताए । विद्यमान अवस्थामा साइबर अपराध, आर्थिक अपराध जटिल रूपमा देखा पर्दै आइरहेको तथा परम्परागत अपराधका प्रवृत्तिहरूमा समेत परिवर्तन हुँदै आएको बताउँदै यस्ता अपराधहरू नियन्त्रण एवम् न्यूनीकरण गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने र यस भूमिका निर्वाहमा सबै प्रहरी कर्मचारीहरू केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानून अनुरूप शान्ति सुव्यवस्था कायम राख्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताए ।

संघीय शासन प्रणालीको कार्यान्वयनसँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको तथा यस्तो परिवर्तित समय सन्दर्भमा संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग र अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता र प्राथमिकता रहेको उनको भनाई थियो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकास, डिजिटल सुरक्षा जोखिम, जलवायु परिवर्तन जन्य विपद तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूले प्रहरी सेवाको नीति र कार्यशैलीमा नवीन, व्यवहारिक र उत्तरदायी दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता देखिएको उल्लेख गर्दै त्यसका लागि प्रहरीले हेर्ने दृष्टिकोण मात्र पर्याप्त नभई विषय विज्ञ, आम जनसमुदायहरूको परामर्श र दृष्टिकोण समेत आवश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको बताएका थिए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।
त्यसैगरी कार्यक्रममा विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु पनि सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी गराइयो ।