नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन्।
निर्वाचन आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
गृहमन्त्रीले भने- 'वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ ।'
मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए ।
साथै निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षा व्यवस्थासहित सबै आवश्यक तयारी प्रभावकारी रूपमा अघि बढाइने पनि उनले बताए।
आज निर्वाचन तयारीसम्बन्धी विषयमा स्थलगत निरीक्षण तथा अनुगमनका लागि गृहमन्त्री ओम प्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहितको टोली नुवाकोट पुगेको थियो।