काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबिच अन्तरआवद्धता गरी सेवा प्रवाह शुरु गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् ।
जसअनुसार अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्नु नपर्ने भएको छ । गृहमन्त्री अर्यालका अनुसार नागरिकताका लागि जे विवरण भरिएको छ त्यसैलाई राष्ट्रिय परिचयपत्रको विवरण हुने गरी काम अघि बढाइनेछ ।
यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ ।
गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्ना गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताए ।
उनले भने-’हाल गृह मन्त्रालय सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआवद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरु गरेका छौँ ।’
उनले केन्द्रीकृत सेवा प्रवाह शुरु भइसकेको जानकारी दिँदै विस्तारै देशैभर विस्तार गरिने समेत जानकारी दिए।