राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस्
काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले राजनीतिक दलामा आवद्ध कार्यकर्ताहरुर्ला नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड बन्द गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस सबैमा हुनुपर्ने पनि बताएकी छन् ।
राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस् भन्दै उनले एमाले नेतृत्वले गरेरको गल्दी रास्वपाले पनि गर्न खोजेको बताएकी छन् ।
रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा मृत्यु भएकी ४ वर्षीय अल्फा खातुनको विषयलाई लिएर बमले फेसबुकमा लामो स्टाटस लेखेकी हुन् ।
उनले भनेकी छन्–‘सबैभन्दा पहिले, कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुने साथीहरूलाई यत्ति भन्न चाहन्छु कि आफ्नो नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड गर्न बन्द गरौँ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ।’
‘रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ। गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको हामी सामाजिक संजालमा देख्न सक्छौँ। हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा र त्यसपछि नेतृत्वबाट आएको गैरजिम्मेवार, तल्लो स्तरको अभिव्यक्तिले हामीलाई आक्रोशित बनाएको थियो। आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्याइरहनु भएको छ।’– बमले थप भनेकी छन् ।
कानूनलाई सघाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्न आग्रह गर्दै बमले लेखेकी छन्–‘त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला। तर, अहिले मुख्य कुरा जिम्मेवारी हो। जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानूनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस् ।’
बमले अपराधिलाई कानून अनुसार कारबाही हुनैपर्ने माग गरेकी छन् । उनले भनेकी छन्–‘याद राख्नुहोस् साथीहरू, तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुन्छ, हुनैपर्छ। सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस्।’