काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुकुम्बासी समस्याबारे दिएको पछिल्लो अभिव्यक्तिप्रति गायिका ज्योति मगरले व्यंग्य गरेकी छिन् ।
बालेनमाथि काठमाडौं महानगरपालिकाको मेयर हुँदा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती हटाएको तथा फुटपाथमा बस्दै आएका गरिबहरूलाई लखेटेको आरोप लाग्दै आएको छ। तर मंगलबार झापाको कमल गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा पुगेर उनले फरक तर्क प्रस्तुत गरेका छन्।
स्थानीय सुकुम्बासीहरूसँग कुराकानी गर्दै शाहले काठमाडौंमा डोजर चलाउनुको उद्देश्य बाढी तथा जोखिमबाट जोगाउन व्यवस्थापन गर्न खोजिएको भन्दै स्पष्टीकरण दिएका थिए। साथै झापामा सुकुम्बासी हटाउने कुनै योजना नरहेको र लामो समयदेखि रहेको समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
तर बालेनको उक्त भनाइलाई लिएर गायिका ज्योति मगरले सामाजिक सञ्जालमार्फत तीव्र व्यंग्य गरेकी हुन् । उनले झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसमेत रहेका शाहले चुनावी स्वार्थका लागि दोहोरो चरित्र देखाएको टिप्पणी गरेकी छन्।
मगरले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘काठमाडौ महानगरको भोटरहरूको मन जित्न हिजो महानगर वरपरका सुकुम्बासीलाई र फुटपाथका गरिबलाई लखेटेका, भड्काएका मेयर सापले आज झापाका सुकुम्बासीलाई बाढीबाट जोगाउन व्यवस्थापन गर्न खोजेको भन्ने भाष्य सिर्जना गरेको देख्दा हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भो।’
उनले थप लेखेकी छन्, समय समय कि बात है भाइ... हिजो काठमाडौका हुकुम्बासी फकाउन सुकुम्बासीमा डोजर चलाए आज झापामा त्यही सुकुम्बासीको भोट चाहियो !!!’