काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याउँदै बुधबारदेखि चारवटै सुरक्षा निकायलाई नेपाली सेनाको संयोजनमा परिचालन गर्ने भएको छ।
निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुन लागेका हुन्।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ समेत सुरक्षामा खटाइनेछ। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सो क्रममा सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग घनिष्ठ समन्वय गर्नेछ।
बाहिरी घेराको सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्नेछ। निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमाबुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए।
सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा गरिनेछ र संयुक्त गस्ती समेत सञ्चालन हुनेछ। निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको उनले जानकारी दिए।
एकीकृत सुरक्षा योजना–२०८२ राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोही मार्गनिर्देशनअनुसार निर्वाचनको एक महिना अघिबाटै सेनाको फिल्ड परिचालन सुरु गरिएको हो। निर्वाचनका क्रममा सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ।
निर्वाचनपूर्व चरणमा मतपत्र छपाइ, ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षा नेपाली सेनाको प्रमुख जिम्मेवारी रहनेछ। यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।