कैलाली । सुदूरपश्चिम प्रदेशको यातायातको प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ मानिने अत्तरिया बसपार्कमा प्रहरीले तालिमप्राप्त कुकुर प्रयोग गरी सवारीसाधनको चेकजाँच सुरु गरेको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा सतर्कता कडा पारिएको हो ।
तराईबाट सुदूरपश्चिमका सात पहाडी जिल्लातर्फ जाने सवारीसाधनको मुख्य केन्द्र अत्तरिया बसपार्कमा इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर मगाई लामो तथा छोटो दूरीमा चल्ने बसहरूमा चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार निर्वाचनलाई लक्षित गरी विस्फोटक पदार्थ, हातहतियार तथा लागुऔषधको ओसारपसार रोक्न विशेष निगरानी बढाइएको हो।
डीएसपी चन्दका अनुसार अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारीसाधनलाई लक्षित गरी यस्तो चेकजाँच अभियान जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिनेछ।