काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका हुन् ।
अर्यालले गृह मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताए ।
उनले भने- 'प्रहरीलाई नियन्त्रण होइन सक्षम बनाउन जरूरी छ। दबाब दिने होइन, दिशा निर्देश गर्न जरूरी छ। हस्तक्षेप होइन उत्तरदायित्व सुनिश्चित गर्न चाहन्छौं ।'
गृहमन्त्री अर्यालले वर्तमान सन्दर्भमा प्रहरीको जिम्मेवारी, चुनौती र दायित्व थप विस्तार हुँदै गएको उल्लेख गर्दै उनले सेवा प्रवाहमा थप समर्पण र व्यावसायिकता देखाउन निर्देशन दिए।
साथै प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

समारोहमा ९ महिला र ८३ पुरुष गरी कुल ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४ औं) समूहको दीक्षान्त समारोहमा ९ महिला र ८३ पुरुष गरी कुल ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। उनीहरू पछिल्लो १८ महिनादेखि प्रतिष्ठानमा तालिमरत थिए।