काठमाडौं । नीतिगत भ्रष्टाचारको सामाज्य चलाएर देशलाई नै अस्तव्यस्त बनाएका बिचौलियाका रुपमा परिचित व्यापारी दिपक भट्टमाथि जेनजी सरकारले पनि कारबाही गर्नेमा आशंका व्यक्त गरिएको छ।
भट्टमाथि छानबिन गर्न अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएपनि अझै प्रगति हुन सकेको छैन। उनीमाथि छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारीको नेतृत्वमा समिति गठन भएको थियो।
राजश्व अनुसन्धान विभाग, सिआइबी लगायत निकायका प्रतिनिधि सो समितिमा छन्। समितिको सुस्तता हेर्दा छानबिनमा प्रश्न उठेको छ। समितिमा रहेका कतिपय व्यक्तिलाई भट्टले प्रभाव पारिसकेको सूचना अर्थ मन्त्रालय पुगेको छ।
समितिले हिमालयन रिइन्स्योरेन्समा उनको नाममा रहेको शेयरको वास्तविक धनी पत्ता लगाएर प्रतिवेदन दिन नेपाल बीमा प्राधिकरणलाई भनेको थियो। प्राधिकरणले गम्भीर रुपमा छानबिन नै नगरी प्रतिवेदन बुझाएको छ।
जबकी सो कम्पनीमा भट्टले लगानी गरेको पैसाको स्रोत नै खुल्दैन । जगदम्बा स्टिल्सको खाताबाट उनले आर्थिक वर्ष ०७७र७८ मा ४८ करोड लिएपनि सो कम्पनीको लेखा परीक्षणमा भने त्यति ठुलो रकम गायब बनाइएको थियो ।
उनले शंकर समूहसँग लिएर शेयरवापत जम्मा गरेको देखिन्छ । हिमालयन रिइन्स्योरेन्स शंकर ग्रुपकै मुख्य लगानीमा स्थापना भएको कम्पनी हो।
सो समूहलाई रिइन्स्योरेन्सको लाइसेन्स दिलाएवापत भट्टले करोडौंको शेयर निशुल्क लिएको प्रारम्भिक छानबिनले देखाउँछ। यो विषयमा विस्तृत छानबिन हुन सकेको छैन ।
भट्टका अन्य कारोबारबारे पनि छानबिन गर्न नेपाल राष्ट्र बैंकले विगतमा पत्राचार गर्दै आएको छ। त्यसमा पनि छानबिन हुन सकेको छैन ।
जसले गर्दा हालका सरकारलाई पनि उनले प्रभावमा पारेको आशंका गरिएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले भट्ट र उनको परिवारको बैंक खातामा अस्वाभाविक कारोबार पत्ता लगाएपछि दुई वर्षअघि नै पत्राचार गरेको थियो ।
भट्टको एकल स्वामित्वमा रहेको कम्पनी इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी एक वर्षमा तीन करोडबाट ४८ करोड पु¥याइएको थियो । ०७७ असारमा सो कम्पनीको चुक्ता पुँजी तीन करोड रहेकोमा ०७८ असार मसान्तमा ४८ करोड पुगेको थियो ।
तर, भट्टले त्यसको आर्थिक स्रोत देखाउन सकेका छैनन् । भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिल्सको खाताबाट ४५ करोड जम्मा भएको थियो ।
कम्पनीको खाताबाट सो रकम भट्टको सिद्धार्थ बैंकमा रहेकोव्यक्तिगत खातामा गएको थियो । जुन कारोबारको प्रयोजन र वास्तविक धनीको पहिचान नखुलेको भन्दै छानबिन गर्न राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई भनेको थियो।
हिमालयन रिइन्स्योरेन्स लिमिटेड र इन्फिनिटी होल्डिङ प्रालिबिचको करोडौँको कारोबार पनि शंकास्पद छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि र उनको व्यक्तिगतओफरड्राफ्ट चल्ती खाताबाट शंकास्पद र अस्वाभाविक कारोबार भएको देखिन्छ ।
५० लाख ऋणको सीमा रहेको उनको व्यक्तिगत खाताबाट १४ असार ०७८ देखि २३ असारको बिचमा ३० करोड १५ लाख ८७ हजार ७४७रुपैयाँ जम्मा भएको थियो भने ४५ करोड चार लाख ४५ हजार ११० रुपैयाँ भुक्तानी भएको थियो ।
त्यस्तै, १७ असार ०७८ देखि ५ साउन ०७८ को बिचमा इन्फिनिटी होल्डिङको खातामा १८ करोड ४० लाख ९५ हजार ५६६ रुपैयाँ जम्मा र ६३ करोड ४० लाख ९३ लाख ८२९ रुपैयाँ भुक्तानी भएको थियो । जुन खाताको ऋण सीमा ४४ करोड रुपैयाँ छ ।
त्यस्तै, उनको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सोही वर्ष असार १३ देखि १६ गतेबिचमा जगदम्बा स्टिल्सबाट ४५ करोड जम्मा भएको थियो ।
देखिने कुनै व्यवसाय नभएका भट्टले यसरी केही दिनमै बैंक खाताबाटै करोडौँको कारोबार गरे पनि त्यसबेला केपी शर्मा ओलीले जोगाएका थिए। अहिलेको सरकारका केही व्यक्ति पनि भट्टलाई जोगाउन लागेका त होइनन् भन्ने प्रश्न उठेको छ।