काठमाडौं । लामो प्रयासपछि नेपाल प्रहरीको रासनमा रहेको विभेद हटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको रासन स्केल बढाउने निर्णय गरेको हो ।
यसअघि नेपाल प्रहरीले रासनमा १६ प्रकारका खाद्यसामाग्री पाउँदै आएकोमा अब १९ प्रकारको पाउनेछन् । यसअनुसार प्रहरीको रासनभत्ता करिब १० प्रतिशत बढ्नेछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले पाउने चामलको मात्रा बढेको छ । हाल प्रहरीले दैनिक ६९० ग्राम तौल चामल पाउँदै आएकोमा अब ७२० ग्राम पाउनेछन् ।
त्यस्तै, हप्तामा एउटा अण्डा, २५ ग्राम कुखुराको मासु र २५ ग्रामको इनर्जी बिस्कुट थप पाउने भएका छन् । जून सशस्त्र प्रहरीका कर्मचारीले पाउँदै आएका छन् ।
जेनजी आन्दोलनपछि यस्तो विभेद हटाउने प्रक्रिया प्रहरी प्रधान कार्यालयले अघि बढाएको थियो । जसअनुसार प्रहरीलाई थोरै भएपनि राहत भएको छ ।
जसअनुसार महिनामा औसतमा प्रहरीको रासनभत्ता मासिक ६ सय रुपैयाँ बढ्नेछ । हाल काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले दैनिक दुई सय १ रुपैयाँ २५ पैसा रासनभत्ता पाउनेमा अब दुई सय २१ रुपैयाँ ९१ पैसा पाउनेछन् ।
यो निर्णयले प्रहरीमा मनोबल बढाउन थोरै भएपनि प्रोत्साहन गरेको छ । प्रहरीको रासनभत्ता बढाउन आईजीपी दानबहादुर कार्कीले पहल गरेका थिए । उनी प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै प्रहरीका सेवा सुविधा बढाउन अग्रसर छन् ।