काठमाडौं। आज नेप्से १७.५३ अंकले घट्दै बन्द भएको छ।
यो साता सोमबार‚ मंगलबार र बिहीबार नेप्से घट्दा आइतबार र बुधबार भने बढेको थियो।
आइतबार ५७.५५ अंकले नेप्से बढेपछि उत्साही बनेका लगानीकर्ताहरू सोमबार ३.०७‚ मंगलबार ४२.५८ र बिहीबार १७।५३ अंकको गिरावटसँगै निराश बने। बुधबार नेप्से ५.३८ अंकले बढेको थियो।
अघिल्लो कारोबार दिन बुधबारको तुलनामा आज नेप्से ०.६४ प्रतिशतले घट्दै २‚७१४.०५ अंकमा रोकिएको छ।
नेप्सेमा आज ३२० कम्पनीको एक लाख ३८ हजार ८८३ पटकको कारोबारमा तीन करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच भए। जसमा बिहीबार १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँको कारोबार भयो।
१३ समूहको कारोबार भएकामा तीनवटाको मात्र सूचक बढ्यो। बाँकी १० समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.४७‚ विकास बैंक २.२३‚ फाइनान्स १.७५ र होटेल तथा पर्यटन १.२९ प्रतिशतले घटे।
तर जलविद्युत् समूह ०.३८ र लगानी समूह ०.०८ प्रतिशतले बढे। जीवन बिमा ०.६३‚ उत्पादन तथा प्रशोधन समूह २.१२ प्रतिशत र लघुवित्त समूह ०.६० प्रतिशतले घट्यो। म्युचुअल फन्ड समूह भने ०.३६ प्रतिशतले बढ्यो।
आज निर्जीवन बिमा ०.७४‚ अन्य १.१२ र व्यापार समूह ०.१७ प्रतिशतले बढे।
नेप्सेमा बिहीबार ८५ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको घट्यो। पाँचवटा कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्तले ९.२३ प्रतिशतले कमाए। हिमाल दोलखाको अन्तिम कारोबार मूल्य २१३ रुपैयाँ कायम रह्यो। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड‚ मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सप्तकोसी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले सेयरमूल्य गुमाए। अर्थात बिहीबार यी तीनवटै कम्पनीका सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको सेयर कारोबार भयो। आज यसको ५९ करोड ९९ लाख १४ हजार ४४५ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ कायम रह्यो।