काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सबै उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिताको पालना गर्न निर्देशन दिएको छ ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले आचारसंहिता पालना गर्न निर्देशन दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले आयोगको आचारसंहिता पूर्ण पालना गर्न र आन्तरिक आचारसंहिता निर्माण गरी मातहतका समितिहरुलाई निर्देशन दिएको बताए ।
प्रवक्ता चालिसेले भने- 'निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रुपमा पालना गरिनेछ। गलत संस्कृतिको विकास नहोस् र प्रतिष्पर्धा मर्यादित रहोस् भन्ने उदेश्यले पार्टीले आन्तरिक रुपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरुलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।'
त्यसैगरी प्रचारका क्रममा पार्टीको नीति योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने तर अन्य उम्मेदवारहरुको बारेमा टिकाटिप्पणी नगर्ने नीति लिएको समेत बताइएको छ ।