तनहुँ । डेढ वर्षअघि चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको गणपति डिलक्स बसको भग्नावशेषबाट मानव कङ्काल फेला परेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको बस उत्खनन गर्ने क्रममा १६ औं दिनमा उक्त कङ्काल फेला परेको हो ।
गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा नदी किनारमा सवारी साधनको अवशेष देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरुमा बेल्चाको प्रयोग गरी बालुवा पन्छाउने प्रयास गरेका थिए । मानवीय स्रोतबाट मात्र बस निकाल्न सम्भव नभएपछि तनहुँको ‘मिलन चेनपुली’ कम्पनीको सहायतामा चेनपुली प्रयोग गरी उत्खनन कार्यलाई तीव्रता दिइएको थियो ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले बसको भग्नावशेषभित्र मानव कङ्काल भेटिएको पुष्टि गरे । हाल बसको अगाडिको भाग निकालिएको छ भने पछाडिको भाग निकाल्ने प्रयास जारी रहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा गरिएको उत्खननका क्रममा भेटिएको उक्त बसको इन्जिन नम्बर र चेसिस नम्बरका आधारमा त्यो सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स नै भएको पुष्टि भइसकेको छ ।
स्मरणीय छ, २०८१ असार २८ गते बिहान चितवनको भरतपुर–२९ सिमलतालमा लेदोसहितको भीषण पहिरो खस्दा काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेका थिए