काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने र अपमानित गर्ने व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विमानस्थलमा आफूविरुद्ध गरिएको व्यवहार माथिबाट आदेश आएको भन्दै गरिएको गुनासो गरे ।
उनले भने- 'अस्ती झापा जाँदा राम्रै व्यवहार गरिएको थियो । हिजो फर्किँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर हैरान पारियो किन यस्तो गरियो भनेर सोध्दा माथिबाट आदेश आएको छ भनियो। यसले सरकारको दृष्टिकोण के हो भन्ने प्रश्न उठ्छ ।'
विमानस्थलमा गरिएको चेकिङ र व्यवहारले आफू सभ्य समाजमा नभएको जस्तो अनुभूति भएको उनले बताए ।
अध्यक्ष ओलीले यस प्रकारको व्यवहारलाई अराजनीतिक र असभ्य सरकारको उदाहरण भएको उल्लेख गर्दै सरकारमा बेथिति, अन्याय र गलत प्रवृत्ति मौलाइरहेको आरोप लगाए ।