विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १०० सिट जित्न सक्ने दाबी गरेका छन् ।
मोरङको विराटनगरमा पत्रकारहरूसँगको संवादमा उनले समानुपातिकतर्फ पनि कम्तीमा ३५ लाख मत ल्याउने विश्वास व्यक्त गरेका हुन् ।
घिमिरेले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको एकता र अनुशासनकै बलमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा ठूलो सफलता हासिल गर्ने दाबी गरे।
'२०७९ को निर्वाचनमा जितेका सिट र हजारभन्दा कम मतले गुमाएका सिटको समेत हिसाब गर्दा प्रत्यक्षतर्फ १०० सिटमा जित सम्भव छ,' उनले भने।
उनले फागुन २१ गतेको निर्वाचनपछि संसदीय दलको नेतामा सभापति गगन थापा सर्वसम्मत चयन हुने पनि बताएका छन्।
संसदीय व्यवस्था भएका देशहरूमा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै घिमिरेले त्यसैअनुसार थापा संसदीय दलको नेता बनेर प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गर्ने दाबी गरे।
महाधिवेशनको सन्दर्भमा घिमिरेले कांग्रेसको १५औँ महाधिवेशन वैशाखमा गर्न उपयुक्त नहुने स्पष्ट पारे। पार्टी विधानअनुसार एक वर्षभन्दा बढी महाधिवेशन सार्न नमिल्ने व्यवस्था रहेको स्मरण गराउँदै उनले संसदीय निर्वाचनको नतिजापछि सरकार गठन प्रक्रियामै केही महिना लाग्ने भएकाले वैशाखमा महाधिवेशन सम्भव नहुने बताए।
उनका अनुसार कांग्रेसको १५औँ महाधिवेशन २०८३ सालको पुस मसान्तभित्रै गर्नुपर्ने संवैधानिक र विधानिक बाध्यता रहेको छ।