काठमाडौं । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले निवर्तमान मन्त्रीहरू कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेललाई ‘चरम अवसरवादका जिउँदा उदाहरण’ भएको आरोप लगाएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले चुनाव गराउने दायित्वमा रहेको ‘नागरिक सरकार’ ले उनीहरूको नियुक्ति गरेसँगै समस्याको सुरुवात भएको बताएकी हुन् ।
पाण्डेले मन्त्री पदबाट राजीनामा दिएर उनीहरूले जेन–जी आन्दोलनको नैतिक पुँजी नै लुटेको टिप्पणी गरिन् ।
‘यो सरकार सडकमा गोली खाएका युवाहरू, र परिवर्तनका लागि ज्यान जोखिममा राख्ने नागरिकहरूको बलिदानबाट उभिएको एउटा “नागरिक सरकार” थियो,’ उनले लेखेकी छन्, ‘यस्तो ऐतिहासिक क्षणमा मन्त्री हुनु भनेको पद पाउनु मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता र सत्ता संयमको परीक्षा पास गर्नु थियो। तर सत्ता हात परेपछि पार्टीको झण्डा बोकेर निस्कनु, संगठन निर्माणमा लाग्नु र अन्ततः दलीय राजनीतिमै विलय हुनु यो विश्वासघात हो।’
उनले मन्त्री पदलाई राजनीति गर्ने भर्याङ बनाएको भन्दै तीव्र आक्रोश पोखिन् । ‘दलकै शरणमा जानु थियो भने गैरदलीय, स्वतन्त्र र विज्ञको मुखौटा किन ? के शहीदको रगत तपाईंहरूको राजनीतिक करियर सुरक्षित गर्ने भर्याङ मात्र थियो ?’ भन्दै उनले कटाक्ष गरेकी छन् ।