काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका ज्वाइँ प्रबल थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
कांग्रेस सभापति गगन थापाले थापालाई टिकट दिएका हुन् ।
यससँगै २०६४ सालदेखि लगातार काठमाडौं क्षेत्रबाट चुनाव जित्दै आएका पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह यसपटक टिकटबाट वञ्चित भएका छन् ।
पार्टीभित्र लामो समयदेखि चलिरहेको आन्तरिक रस्साकस्सीपछि अन्ततः सिंहको स्थानमा थापालाई अघि सारिएको हो ।
स्रोतका अनुसार सभापति गगन थापाले प्रकाशमान सिंहलाई यसअघि क्षेत्र नम्बर ७ बाट चुनाव लड्न प्रस्ताव गरेका थिए । तर सिंहले आफ्नो परम्परागत क्षेत्र नम्बर १ नछाड्ने अडान लिएपछि सहमति जुट्न सकेन ।
त्यसपछि पार्टी नेतृत्वले उनलाई टिकट नदिने निर्णय गरेको हो ।
प्रबल थापा कांग्रेस सभापति गगन थापानिकट नेता मानिन्छन् । उनी सर्वोच्च अदालतबाट पदमुक्त भएका अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका छोरी ज्वाइँ हुन् ।