सिन्धुपाल्चोक । नेपाली कांग्रेसले सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेसले क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङलाई उम्मेदवार बनाएको हो ।
सिन्धुपाल्चोकमा यसपटक कांग्रेसको निर्णय सबैभन्दा बढी चर्चामा छ, किनकि पार्टीका पूर्वमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने मोहनबहादुर बस्नेत टिकटबाट वञ्चित भएका छन् ।
अन्तिम समयसम्म टिकटका लागि पहल गरे पनि टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाले बस्नेतलाई टिकट नदिइएको स्रोतको दाबी छ ।
कांग्रेस क्षेत्रीय समितिले बस्नेतको नाम एकल सिफारिस गरे पनि जिल्ला समितिले बस्नेतसँगै जिल्ला सभापति जंगबहादुर लामा र महेन्द्र लामाको नाम केन्द्रमा सिफारिस गरेको थियो । अन्ततः केन्द्रले लामा र तामाङलाई अघि सार्दै बस्नेतलाई बाहिर राख्ने निर्णय गरेको हो ।