काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्रीहरूले विशेष महाधिवेशन युवाका लागि नभएर आफ्ना लागि मागिरहेको दाबी गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै नेता बस्नेतले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र आफू मात्रै युवा रहन खोजेको आरोप लगाएका हुन्।
बस्नेतले भने- 'युवा पुस्ता भनेर आफू मात्र युवा हुने ? पुस्तान्तरणको कुरा गर्ने अनि विशेष महाधिवेशन भन्ने ? हाम्रो विधानले विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय समितिको मात्रै पदाधिकारी र केन्द्रीय सदस्यको चुनाव हुन्छ। त्यो पनि १४ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिले मात्रै चुन्न पाइन्छ। भनेपछि विशेष महाधिवेशन नयाँ पुस्ताका लागि छँदै छैन। नियमित महाधिवेशनमा मात्रै वडा अधिवेशन, पालिका, प्रदेश, क्षेत्र, जिल्ला, फेरि प्रदेश, अनि केन्द्रमा चुनाव हुँदा खेरी सबैले अधिवेशनमा भाग लिन पाउँछन्।'
अहिले जेनजी पुस्ताको कुरा पनि धेरै उठिरहेको बेला वडादेखि केन्द्रसम्मै महाधिवेशन गर्नुपर्ने बेला रहेको उनले बताए।
उनले महामन्त्री थापा लक्षित गर्दै भने- 'उहाँले भनिराख्नुभएको छ बारम्बार म चुनाव लड्दिनँ, विधानले पनि दिन्न भनेर भनिराख्नुभएको छ भने खुकुरी गर्धन लागेर सभापति मर्ने हिसाबले हस्पिटलमा सुतिराखेको बेलामा यो धेरै कुरा बकवास गरेर हुन्न। आफूलाई लागेको जिम्मेवारी पूरा गर्न नसक्ने, नियमित महाधिवेशन गर्नका लागि क्रियाशील सदस्यताको प्रक्रिया नटुङ्ग्याउने, अनि त्यहाँबाट जम्प गरेर विशेष महाधिवेशन भन्नेरु,’
सभापति शेरबहादुर देउवाले आफू अब महाधिवेशन नलड्ने भनिरहेको र विधानले पनि नदिने बेलामा महामन्त्रीहरू बकवास गरेको पनि बस्नेतले टिप्पणी गरे।