काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्।
उनले महानगरकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आजैदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा पेश गरेका हुन्।
राजीनामा पत्रमा शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार नगर प्रमुख पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्।
पत्रमा उनले नगर प्रमुखका रूपमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितका लागि सकेसम्म इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको बताए।
साथै, अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामनासहित उप–प्रमुख तथा नगर कार्यपालिकालाई सफल कार्यकालको शुभेच्छा पनि व्यक्त गरेका छन्। राजीनामा पत्र काठमाडौं महानगरपालिकाको उप–प्रमुखको कार्यालयमा दर्ता भएको छ।
यो सँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएकी छिन्।
बालेन फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। सोहि कारणले उनले पदबाट राजीनामा दिएका हुन् । उनी आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। उनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ।
यसअघि काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी शुक्रबार पदबाट राजीनामा दिएका थिए ।पाण्डे पनि बालेनकै पार्टीबाट चुनाव लड्ने तयारीमा छन् ।