काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई दिएपछि पनि खड्काले शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले खड्काको निर्देशनअनुसार जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।
यसअघि खड्का नेतृत्वमा बसेको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो।
तर ती नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि उत्पन्न विवादमा निर्वाचन आयोगले अन्ततः गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता प्रदान गरेको छ ।