काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि सभापति शेरबहादुर देउवा पक्षले कडा असन्तुष्टि जनाएको छ ।
देउवा पक्षीय कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय परम्परा, कांग्रेसको विधान तथा राजनीतिक दलसम्बन्धी ऐनविपरीत आएको दाबी गर्दै उक्त निर्णय अमान्य भएको प्रतिक्रिया दिएका छन् ।
“यो निर्णय आयोगका अघिल्ला नजिर, कांग्रेसको विधान र राजनीतिक दलसम्बन्धी ऐन विपरीत आएको छ,” खड्काले भने, “त्यसैले यो निर्णय अमान्य छ। यसका विरुद्ध राजनीतिक र वैधानिक दुवै तवरले लडाइँ लड्छौँ ।”
खड्काले निर्वाचन आयोग कसैको दबाबमा परेर निर्णय गर्न पुगेको आरोपसमेत लगाए ।