काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म चलेको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको हो।
सभापतिमा थापाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया औपचारिकतामा सीमित भएको थियो। दोहोरो उम्मेदवारी परेका अन्य पदहरूमा समेत छलफल र सहमतिमार्फत नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै कांग्रेसभित्र पुस्तान्तरण र संगठन सुदृढीकरणको स्पष्ट संकेत देखिएको छ।
सहमहामन्त्री पदमा पनि सबै ८ जना सर्वसहमत चयन भएका छन्। सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका हुन्।
पार्टीका अनुसार कोषाध्यक्ष भने पछि मनोनयन गरिनेछ।