काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले उनीहरूलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिएको हो।
नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनबाट युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे महामन्त्रीमा चयन भएका हुन्।
महामन्त्रीबाहेक अन्य पदाधिकारीको टुंगो लगाउन भने महामन्त्री गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल जारी रहेको उनले जानकारी दिए।
निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। सो क्रममा महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका थिए। कांग्रेसको विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका प्रदीप पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।
विशेष महाधिवेशनमार्फत पौडेलले पुनः महामन्त्रीमा चयन हुँदै पार्टी नेतृत्वमा पुनरागमन गरेका छन्।