काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले वार्ताका लागि सभापति शेरबहादुर देउवासमक्ष ८ बुँदे प्रस्ताव पठाएको छ ।
पार्टीलाई एक ढिक्का बनाएर लैजान निकासको अन्तिम प्रयास स्वरूप दुवै पक्षबीच विभिन्न विकल्पको आदानप्रदान भइरहेको छ । त्यसैको अन्तिम प्रयास स्वरुप विशेष महाधिवेशन पक्षले उक्त ८ बुँदे प्रस्ताव पठाएको हो ।
विशेष पक्षले पठाएको ८ वटा बुँदामा विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने लगायत कुरा समावेश छन् ।
सभापति शेरबहादुर देउवासँग आज बिहान उनको निवास महाराजगन्जमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षका नेताहरूबीच सहमतिको बाटो के के हुन सक्छ भन्नेबारे सन्देश आदानप्रदान भइरहेको स्रोतको दाबी छ । चुनावमा वितरण हुने टिकटमा हस्ताक्षर परिवर्तन गर्न भने देउवा तयार भइसकेका छन् ।
८ बुँदे विकल्पमा सकारात्मक जवाफ नआए नेतृत्व चयन गरेर अगाडि बढ्ने विशेष महाधिवेशन पक्षधरको भनाइ छ ।