काठमाडौं । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा अहिले निर्णायक वार्ता भइरहेको छ ।
सहमतिको अन्तिम प्रयासस्वरूप भइरहेको छलफलमा दुवै पक्ष लचक देखिन थालेका छन् ।
देउवा निवासमा भइरहेको छलफलमा वार्ता समितिका सदस्यहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्। यसका साथै अन्य शीर्ष नेताहरू पनि छलफलमा सामेल छन् ।
वार्तामा आसन्न निर्वाचनका सन्दर्भमा महत्त्वपूर्ण सहमतिको संकेत देखिएको छ। सहमतिका लागि आगामी निर्वाचनमा वितरण हुने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको हो।
यसअघि नै संस्थापन पक्षले विशेष महाधिवेशनका क्रममा प्रस्तुत दस्तावेजहरूलाई केन्द्रीय कार्यसमितिमा अध्ययन, संशोधन र परिमार्जन गरी ग्रहण गर्न सहमति जनाइसकेको छ।
त्यस्तै, २०८० फागुनमा सम्पन्न महासमिति बैठकका निर्णय कार्यान्वयन गर्न पनि संस्थापन पक्ष तयार भइसकेको छ।
शीर्ष तहमा जारी वार्ताले नेपाली कांग्रेसको विशेष महाधिवेशन, निर्वाचन प्रक्रिया र नेतृत्व विवादलाई सहमतिमा टुंग्याउने अपेक्षा गरिएको छ।