कैलाली । सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्तावित विशेष महाधिवेशनलाई विधान विपरीत भएको दाबी गरेका छन् र त्यसमा सहभागी नहुन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने सभापतिहरूमा बझाङका खडकबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, डडेलधुराका भिम साउँद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्ट रहेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना हुने तय भएसँगै पार्टीभित्र मतभेद तीव्र बनेको छ ।
कतिपय जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा उभिइरहेका बेला सुदूरपश्चिमका यी सभापतिहरूले भने विशेषको सट्टा नियमित महाधिवेशन नै गर्नुपर्ने अडान लिएका छन्।
विज्ञप्तिमा पार्टीको विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उल्लेख गरिएको छ। सो अधिकारविपरीत व्यक्तिगत पहलमा आयोजना गरिने कुनै पनि अधिवेशन वा गतिविधि विधानविपरीत हुने उनीहरूको ठहर छ।
साथै, उनीहरूले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।