काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलकाबीच नै गठबन्धन भएपछि त्यसलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गठबन्धनबारे दलबीच गृहकार्य थालिएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन बनाएर चुनावमा सहभागी हुने विषयमा प्रमुख दलबीच छलफल सुरु भएको हो ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच चुनावी गठबन्धनबारे छलफल भइरहेको छ । जेनजी आन्दोलनपछि नयाँ शक्ति एकजुट हुन थालेपछि प्रमुख दलबीच पनि चुनावी गठबन्धन गर्ने विषयमा छलफल सुरु भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।
यस गठबन्धनमा जनता समाजवादी पार्टी पनि सहभागी छ । राष्ट्रिय सभा निर्वाचनका लागि सुरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहितको गठबन्धन भएको थियो ।
तर प्रचण्ड नयाँ दिल्लीबाट फर्किएसँगै त्यो गठबन्धनबाट नेकपा बाहिरियो । सिट बाँडफाँटमा सहमति नभएपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेस र एमाले पनि नजिकिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग गठबन्धन नगर्न पार्टीभित्रैबाट महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताले दबाब दिँदै आएका छन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक छलफल गर्दै आएका देउवा गठबन्धन गर्न सहमत भएका हुन् । देउवा र ओलीबिच प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन’दयगत छलफल भइरहेको स्रोतको दाबी छ । राजधानी दैनिकबाट