काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले साढे तीन महिनाको अवधिमा तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई बधाई तथा धन्यवाद दिएकी छिन् ।
बुधबार साँझ बालुवाटारमा आयोजित भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरूप खादा पहिराइदिँदै कठिन परिस्थितिमा सरकारमा सहभागी भई देशका लागि उल्लेखनीय योगदान दिएको भन्दै प्रशंसा गरिन् ।
'निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभयो,' प्रधानमन्त्री कार्कीले भनिन्, 'रातदिन नभनी खट्नुभयो, देशका विभिन्न भागमा पुग्नुभयो, विपद्का बेला अग्रपंक्तिमा रहनुभयो। विपद्ग्रस्त क्षेत्रमा आफैं पुगेर काम गर्नुभयो। विकास निर्माणका बेथितिविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ, जनताले मूल्यांकन गर्नेछन्।'
प्रधानमन्त्री कार्कीले घिसिङको आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गरिन्। उनले घिसिङ स्वेच्छाले वा कुनै स्वार्थका कारण सरकारमा नआएको स्पष्ट पार्दै जेनजी युवाको मागका आधारमा सरकारमा ल्याइएको र कुनै सुविधा नलिई निःस्वार्थ सेवा गरेको उल्लेख गरिन्।
'चुनाव नजिकिएपछि राजनीतिमा जान छुट दिने गरी नै तपाईंलाई हामीले भित्र्याएका हौँ,' प्रधानमन्त्री कार्कीले भनिन्, 'आउँदा दिनमा देशका लागि अझै ठूलो काम गर्न सक्नुहुनेछ भन्ने विश्वास छ।'
कुलमान घिसिङले प्रधानमन्त्री कार्कीसँग भेट गरी बुधबार साँझ आफ्नो राजीनामापत्र पेस गरेका हुन् ।