काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा अधिवेशन वा विशेष महाधिवेशन बोलाउन नपाइने स्पष्ट पारेको छ ।
बुधबार जारी विज्ञप्तिमार्फत संस्थापन पक्षले पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन आह्वान गर्ने अधिकार व्यक्तिगत रूपमा कसैलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको जनाएको हो।
विधानविपरीत पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा अधिवेशन वा विशेष महाधिवेशन बोलाउने नाममा गर्ने कुनै पनि गतिविधि अस्वीकार्य हुने चेतावनी दिँदै संस्थापन पक्षले त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी–सदस्यहरू र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत विधानको सम्मान गर्न अपिल गरिएको छ।
विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट अधिवेशनरमहाधिवेशनको कार्यतालिका तयार भई प्रक्रिया अघि बढिसकेको अवस्थामा सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरिएको छ। तर, विभिन्न सञ्चारमाध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयप्रति संस्थापन पक्षले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महाधिवेशनको तयारीका क्रममा अनिवार्य रूपमा पूरा गर्नुपर्ने पहिलो चरणको प्रक्रिया क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण भएको उल्लेख गर्दै विज्ञप्तिमा वडा अधिवेशन सम्पन्न नभई केन्द्रीय महाधिवेशन सम्भव नहुने स्पष्ट पारिएको छ। क्रियाशील सदस्य नै वडा अधिवेशनका पहिलो मतदाता हुने तथ्यसमेत स्मरण गराइएको छ।
एकातर्फ क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गरी निर्धारित कार्यतालिका अनुसार सूची केन्द्रीय कार्यसमितिमा पेस हुन नसकेको र अर्कोतर्फ मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा विशेष महाधिवेशनको माग असान्दर्भिक भएको कांग्रेस संस्थापनको निष्कर्ष छ।

